बासुमा शुभकामना कार्यक्रम

Basu Higher Secondary School

भक्तपुर, २८ चैत्र । बासु माध्यमिक विद्यालयमा कृषि र कम्प्युटर इन्जिनियरङको डिप्लोमा तहमा अध्यापनरत शिक्षकबीच नववर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल प्राध्यापक समाजका अध्यक्ष एवम् बासु मावि, व्यवस्थापन समितिका अध्यक्ष सरोजराज गोसाईले शिक्षालाई स्थानीय ज्ञानसँग गाँसेर व्यावहारिक बनाउनुपर्ने बताउनुभयो । शिक्षालाई समाजसँग जोड्न नसक्दा शिक्षा कक्षामा मात्र सीमित भएको उहाँको तर्क थियो ।
अतिथि गोसाईले भन्नुभयो, “पुर्खाैंदेखि कृषि गर्दै आएका किसान पनि विद्यार्थीका शिक्षक नै हुन् । परम्परागत कृषिका विधिबारेमा अनुसन्धान हुनुपर्छ ।” उहाँले विद्यार्थीहरूको सुनौलो भविष्य निर्माणमा शिक्षकहरूकै भूमिका सबभन्दा बढी हुने उल्लेख गर्दै विद्यार्थीलाई सही मार्गनिर्देशन गर्नसक्ने क्षमता शिक्षकहरूमै हुनेमा जोड दिनुभयो । विद्यार्थीमा आलोचनात्मक चेतको विकास गराउनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा विद्यालका सहप्रधानाध्यापक रविलाल प्रधानले भक्तपुर शिक्षा र ज्ञानविज्ञानको केन्द्रको रूपमा विकास हुँदै आएको बताउनुभयो । उहाँले विद्यार्थीलाई पाठ्यक्रमका शिक्षासँगसँगै विभिन्न सीपमूलक तालिम तथा गोष्ठीहरू पनि सञ्चालन गर्दै जाने बताउनुभयो ।
सोही विद्यालयमै सञ्चालित डिप्लोमा कृषि विज्ञान कार्यक्रमका संयोजक एवम् कृषिविज्ञ सविन ख्याजूले कृषि विज्ञानमै देशका ४० भन्दा बढी जिल्लाका विद्यार्थी अध्ययनरत रहेको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक अम्बिका न्याइच्याईको सभापतित्वमा सम्पन्न कार्यक्रममा डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमका संयोजक रमेश प्रजापतिले कक्षालाई नियमित र व्यवस्थित गर्ने सम्बन्धमा प्रस्तुति दिनुभएको थियो । साथै विद्यालयमा अध्यापनरत शिक्षक/शिक्षिकाहरूले सल्लाह सुझाव पनि दिनुभयो । विद्यालयमा हाल कृषि विज्ञान र कम्प्युटर इन्जिनियरिङका ३ वर्षे डिप्लोमा तहका कार्यक्रमहरू सञ्चालित छन् ।

Latest News